मानविय सभ्यताको विकाससँगसँगै गणित पनि विकसित हुदै आएकोले मानव जिवन र गणितबिच निकतम सम्वन्ध रहेको छ । अझ विज्ञान र प्रविधिको विकाससँगै यसको महत्व पनि दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
व्यक्तिको व्यक्तित्वको विकास तथा समग्र समाजको सामाजिक र आर्थिक विकासका लागि पनि गणित अनिवार्य छ । गणितको यस्तो भूमिका र आवश्यकतालाई विचार गरी विद्यालय, विश्वविद्यालय तथा अनौपचारिक सिकाई केन्द्रहरुमा पनि गणितलाई महत्वपुर्ण स्थान दिइएको छ । गणितको प्रारम्भिक ज्ञान र सिपलाई आजभोलि आधारभुत साक्षरतासँग पनि जोड्ने गएिको छ । त्यसैगरी दैनिक जिवनका आवश्यकताहरुको सम्बोधनका लागि पनि गणितीय ज्ञान र सिप अनिवार्य भएको छ । प्राचिन वैदिक शिक्षाअन्तर्गत गुरुकुल प्रणालीमा गणित अलग्गै बिषयको रुपमा शिक्षण नगरिए पनि ज्योतिषशास्त्रको अध्ययनमा यसको पढाइ हुने गरेको थियो । आज गणितलाई मानिसको दैनिक व्यवहारमात्र नभई व्यवसाय, उच्च अध्ययन, विज्ञान–प्रविधिलगायत अन्य बिषयक्षेत्रमा पनि उपयोग गरिएको गरिएको छ । यही आवश्यकता तथा उपयायिताका आधारमा प्रारम्भिक कक्षा देखि नै अनिवार्य विषयको रुपमा गणितको शिक्षण गरिदै आइएको छ । गणितीय
ज्ञानको कुनै सिमा निर्धारण गर्न सम्भव छैन यसको क्षेत्र व्यापक छ । यो व्यापक
क्षेत्रमा पनि निरन्तर नयाँ खोज, अनुसन्धान
तथा प्रयोगले यसको महत्वमा अझ व्यापकता ल्याएको छ । यसबाट गणित अझ व्यापक र समृद्ध
बिषयको रुपमा विकास भैरहेको छ । यस्तो स्थितिमा बालबालीकाहरुलाइ कुनकुन गणितीय
ज्ञान तथा सिपहरु प्रदान गर्ने भन्ने कुराको निर्णय गर्नु एउटा जटिल कार्य हो ।
यस्तो निर्णयमा बालबालिकाका रुचि र क्षमता, समाजको आवश्यकता, विज्ञान प्रविधिको विस्तार जस्ता कुराहरुले प्रभाव पारेका
हुन्छन् । यी प्रभावलाई समेत विचार गरी विभिन्न देश तथा समाजको आवश्यकता अनुसार
फरक–फरक भए पनि सबैले गणितको नयाँ खोज र विकासलाई प्राथमिकतमा राखेको पाइन्छ । यसै
सिलसिलामा विभिन्न देशहरुमा गणित पाठ्यक्रम तथा शिक्षण विधिहरुमा समेत समय–समयमा
सुधार र परिमार्जन भइरहेका छन् ।
गणितको
पाठ्यक्रमा तथा बिषय वस्तुमा समय–समयमा फेरवदल भइरहे पनि शिक्षण विधिहरुमा भने
परम्परागत विधिहरुको निरन्तरता देखिन्छ । यस्तो अवस्थामा गणितलाई प्रभावकारी
ढङ्गले शिक्षण गर्न परम्परागत गणित शिक्षण विधिको अध्ययन गरी यसका कमीकमजोरी
हटाउनु आवश्यक छ । परम्परागत गणित शिक्षण विधिमा शिक्षकले नियमित प्रकृयामा जोड
दिन्छन् । विद्यार्थीहरुलाई हिसाब गर्ने नियमहरु र तरिकाहरु बताइदिन्छन् र यी नियमहरुको प्रयोगबाट हिसाब कसरी गर्न
सकिन्छ भन्ने कुराहरु उदाहरणबाट प्रष्ट्याउदछन् । अनि बोर्डमा गरेअनुसार
अन्य हिसाबहरु विद्यार्थीहरुलाई दिन्छन् । विद्यार्थीहरुले यी नियमहरुको आधारमा
हिसाब गर्न त सक्दछन् तर उनीहरुले आफुले के गरीरहेका छन् र किन त्यसो किन गरी
रहेका छन् भन्ने कुरा बुझेका हुदैनन्। उनीहरु कहिले पनि शिक्षकलाई यो समस्याको
समाधान किन यसरी गरीएको हो ? यसको
उपयोगिता के छ ? अर्को
तरीकाबाट पनि यो समस्या गर्न सकिन्छ कि ? भनेर सोध्दैनन् । शिक्षकले पनि आफुले के सिकाई रहको छु ? यसको उपयोगिता के छ ? भन्ने कुरा थाहा पाएका हुदैनन् र कुनै विद्यार्थीले यसो किन
गरिएको भनी प्रश्न गरेमा शिक्षकले यो गणितीयमा नियम हो, तिमिहरुले यी नियमहरुको संझना र प्रयोग गरेमात्र पुग्छ
भन्ने जवाफ दिन्छन् । यस्तो अवस्थामा विद्यार्थीहरुको सिर्जनशिलता प्रस्फुटित हुन
पाउदैन,
केवल कण्ठ गराईको विकास तथा स्मरणको मात्र प्रयोग हुन्छ ।
यसमा शिक्षकहरुको मात्र दोस नभएर कतिपय अवस्थामा विद्यार्थीहरु तथा विद्यालय
प्रशासन तथा अभिभावकको समेत दोस देखिन्छ । विद्यार्थीहरु पनि अन्य कुराहरुमा भन्दा
परिक्षामा धेरै अंक ल्याउने कुरामा जोड दिन्छन् अरु कुरा सिक्नु तथा बुझ्नुलाई
समयको बर्बादीमात्र सम्झन्छन् । कुरा बुझाउने र विद्यार्थीलाई समस्या समाधानमा
सहभागी गराउने भन्दा बढि भन्दा बढि समस्याहरु समाधान गरीदिने शिक्षकलाई मन पराउँदछन्
। अभिभावकहरु समेत विद्यार्थीहरुले कति सिके भन्ने भन्दा पनि परिक्षामा कती अंक
आयो भन्ने कुरालाई महत्व दिन्छनन् । यसबाट धेरैले गणितलाई एक कन्ठ पारेर पढ्ने
बिषयको रुपमा बुझेको पाइन्छ । यसको असर माथिल्लो कक्षामा पुगेपछी देखिन थाल्दछ ।
माथिल्लो कक्षामा पुगिसके पछि जब बिषय बस्तुको भार धेरै हुन्छ विद्यार्थीहरु कण्ठ
पार्न सक्दैनन् विद्यार्थीहरु फेल हुन थाल्दन् । यसबाट गणित एक अफ्ठेरो केहि
प्रतिभावान विद्यार्थीहरुको बिषय हो भन्ने धारणको विकास भएको देखिन्छ । यो धारणको
कारणबाट धेरै विद्यार्थीहरु कक्षा दश पछि गणित नभएको बिषयमात्र छनोट गर्न खोज्दछन्
र परिणाम स्वरुप कक्षा ११ मा गणित तथा विज्ञान जस्ता महत्वपुर्ण बिषयहरुमा
विद्यार्थीहरुको संख्या न्युन देखिन थालेको छ ।
परम्परागत गणित शिक्षण विधिका प्रमुख कमीकमजोरीहरुलाई निम्न
लिखित बुँदामा संक्षेपिकरण गरिएको छः
v विद्यार्थीहरुमा सिर्जनात्मकताको विकास गराउन सकिँदैन, कण्ठ पार्ने बानीको मात्र विकास हुन्छ ।
v सिकाइको स्थानान्तरण गर्नका लागि नयाँ परिस्थितिमा प्रयोग गर्न कठिन हुन्छ ।
v समस्या समाधानको यो विधि कसरी आएको हो, यसको अर्को कुनै विधि छ कि ? यसको उपयोगिता के
हो ? जस्ता प्रश्नहरुको उत्तर विद्यार्थीहरुले दिन सक्दैनन् ।
v सिकाइमा स्थायित्व कायम हुदैन ।
v विद्यार्थी सक्रिय हुन पाउदैन, शिक्षकमात्र सक्रिय
हुन्छन् ।
v सिकाइ व्यवहारिक भन्दा परिक्षा मुखी हुने गर्दछ ।
v विद्यार्थीले प्राप्त गर्नुपर्ने आवश्यक ज्ञान, सीप र अभिवृत्तिको ख्याल गरिदैन ।
गणित
शिक्षणका लागि विधिको छनोट गर्ने तरिका
परम्परागत
गणित शिक्षण विधिका उल्लिखित कमी–कमजारी हटाइ गणितलाई प्रभावकारी रुपमा शिक्षण
गर्नका लागि बैकल्पिक तरिकाहरु अपनाउन आवश्यक छ । परम्परागत तरिकालाई सुधार गर्नको
लागि गणितलाई अर्थपुर्ण तरिकाबाट शिक्षण गर्नु पर्दछ । गणितलाई अर्थपुर्ण तरिकाबाट
सिकाउनको लागि गणितका नियम, सुत्र
तथा तरिकाहरु किन र कसरी आएका हुन्न् ? अन्य
कुनै तरिका पनि छन् कि ? सिकेका
कुराहरुको उपयोगिता के छ ? दैनिक
जीवनमा यसलाई कसरी प्रयोग गर्न सकिन्छ ? जस्ता प्रश्नहरुको उत्तर विद्यार्थीहरुलाई दिन सक्नु पर्दछ
। त्यसैगरी गणित शिक्षण विद्यार्थी केन्द्रित हुनुका साथै विविध सामाग्रीहरु
प्रगोग गरी अर्थपुर्ण र रुचिकर बनाइनु आवश्वक छ । गणितीय नियम र सिद्धान्तको
प्राप्तिका लागि आगमनलाई उचित स्थान दिनु पर्दछ । यसका लागि विद्यार्थीको स्तर र
क्षमताअनुसारको शिक्षण योजना निर्माण गर्न सकिन्छ । यस्तो योजना निर्माण गर्दा
कुनकुन शिक्षण विधि प्रयोग गर्ने भन्ने कुराको पनि टुङ्यो
लगाउनु पर्दछ ।
गणित शिक्षणका लागि आवश्यकता अनुसार विभिन्न विधिहरुको प्रयोग गर्न सकिन्छ । विषय बस्तु र पाठको प्रकृति, विद्यार्थीको क्षमता, रुचि, स्वभाब, स्तर र उमेर, भौतिक अवस्था र सुविधा, उपलब्ध शैक्षिक सामग्री आदि कुराहरु लाई मध्यनजर गरेर गणित शिक्षण गर्दा आगमन र निगमन विधि, विश्लेषण तथा संश्लेषण विधि, खोज विधि, समस्या समाधान विधि, परियोजना विधि जस्ता विद्यार्थी केन्द्रित विधिहरुको प्रयोग गर्न सकिन्छ । यी विधिहरुको प्रयोग गर्दा शिक्षकले आवश्यकता अनुसन्धान व्याख्यान, छलफल, प्रश्नोत्तर, प्रयोगात्मक कार्य गराउनु आवश्यक हुन्छ । उल्लिखित विधि मध्ये कुन विधि उपयुक्त हुन्छ भनी निश्चित गर्न कठिन हुन्छ । आफ्नो परिस्थितिअनुरुप शिक्षकले विधि छनोट गर्नु पर्दछ । यसरी विधि छनोट गर्दा विद्यार्थीलाई सक्रिय बनाउने, उनिहरुको सृजनात्मकताको विकास गराउने र सकभर व्यवहारिक समस्यासँग सम्वन्धित गराउने प्रयास गर्नु प्रदर्छ । एउटै विषयको लागि पनि आवश्वकता अनुसार विभिन्न शिक्षण विधिको प्रयोग गर्नु राम्रो हुन्छ । कुनै विषय बस्तु कुनै स्थानमा कुनै शिक्षकले प्रभावकारी रुपमा प्रयोग गरेको विधि सबै समय, स्थान र विषय बस्तुको लागि प्रभावकारी नहुन सक्दछ । एउटै विषय बस्तुको लागि पनि समय, स्थान लगायत परिस्थितिअनुसार शिक्षण विधिमा विविधता ल्याउनु पर्ने हुन्छ । यसका लागि उपयुक्त शिक्षण विधिको छनोट गर्ने सिप प्रत्येक शिक्षकमा हुनु पर्दछ । कस्तो शिक्षण विधि प्रयोग गर्ने भन्ने कुराको निर्धारण सामान्यतया निम्न लिखित आधारमा गरिनु पर्दछः
v शैक्षणिक उद्देश्य
v विषय बस्तु र पाठको प्रकृती
v विद्यार्थीको क्षमता, रुचि, स्वभाब, स्तर र उमेर
v भौतिक अवस्था र सुविधा
v उपलब्ध शैक्षिक सामग्र
v शिक्षकको रुचि, क्षमता तथा कार्य बोझ इत्यादि ।
गणित विषय एकातर्फ मात्र हेरिने विषय होइन र यो कसैको व्यक्तिगत विचार धारामा मात्र आधारित पनि हुदैन । साथै यसमा कुनै निर्दिष्ट सिद्धान्त र नियमलाई मात्र मान्नु जरुरी छैन । अतः गणित शिक्षण गर्दा समस्यालाई विभिन्न पक्षबाट हेरिनु पर्दछ । अर्थात गणित शिक्षण गर्नु भन्दा पहिले विद्यार्थीलाई समस्याको जानकारी दिनु पर्दछ । गणितलाई प्रभावकारी तथा अर्थपुर्ण तरिकाबाट सिकाउन शिक्षकले निम्न लिखित कुराहरुमा ध्यान दिनु पर्दछ:
v शिक्षण जहिले पनि विद्यार्थी केन्द्रित हुनु पर्दछ ।
v जुनसुकै उमेर र तहका विद्यार्थीहरुलाई गणितका नयाँ धारण दिँदा मुर्त बस्तुचरण, अर्धमुर्त बस्तुचरण तथा संकेत वा अमुर्त चरण गरि सिकाउनु पर्दछ ।
v गणित शिक्षण पूर्व ज्ञानमा आधारित हुनु प्रर्दछ ।
v विद्यार्थीलालाई क्रियाकलापमा सक्रिय भाग लिन लगाउनु पर्दछ ।
v उत्तर निकाल्नेभन्दा हिसाब गर्ने तरिकामा वा प्रक्रियामा जोड दिनुपर्दछ ।
v क्रियाकलाप तथा समस्या दैनिक जिवनसँग सम्वन्धित हुनु पर्दछ ।
v आवश्यकता हेरि संयुक्त शिक्षण विधि पनि अपनाउन सकिन्छ ।
v विद्यार्थीको विचार गर्ने क्षमता एवं कल्पना गर्नसक्ने शक्तिको अभिवृद्धि गर्ने उद्देश्यले गणितीय समस्या एवं धारणहरुको प्रस्तुति हुनु पर्दछ ।
निष्कर्षः भाषा
जस्तै गणित पनि दैनिक व्यावहारका लागि आधारभुत प्रक्रिया हो । दैनिक जिवनमा गणित
सम्वन्धि धारणहरु प्रयोगमा आईनै रहन्छन् । विद्यार्थीले बयस्क जिवनमा जुन सुकै
पेशा अपनाओस् गणित सम्वन्धि धारण, सिप
र क्रियाको विशेषज्ञताले उसको कार्य कुशलता र सार्थकतालाई बढाउँदछ ।आजको विज्ञान र
प्रविधिको युगमा राम्रो गणितिय ज्ञान भएको जनशक्तिको माग दिन प्रतिदिन बढि रहेको छ
। युक्तिपुर्वक गणित सिक्नाले उद्योग–धन्दा, कृषि, विज्ञान
र प्रविधि जस्ता अरु क्षेत्रमा पनि उच्च अध्यगनको लागि जग प्रदान गर्दछ । साथै
गणितको अध्ययनले विद्यार्थीहरुलाई अनुशासित, तार्किक, सिर्जनात्मक
र आत्मनिर्भर बनाउन सहयोग गर्दछ । त्यसैले विद्यार्थीहरुमा समयको माग अनुसार
गणितीय सिपको विकास गराउन आधुनिक प्रविधिको प्रयोग गरि विद्यार्थीको चाहाना, रुचि र आवश्यकता अनुसार अर्थपुर्ण तरिकाबाट गणित शिक्षण
गर्नु आजको आवश्यकता हो ।
सन्दर्भ सूची
महर्जन, पौडेल, उपाध्याय (२०६८), माध्यमिक गणित शिक्षण, बुद्ध एकडेमिक पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स प्रा. लि., काठमाण्डौ, नेपाल
पण्डित (२०६६), गणित शिक्षण, इन्दिरा पण्डित, शान्ति नगर मार्ग, काठमाण्डौ
Great work sir
ReplyDelete